काठमाडौँ | अमेरिकामा शनिबार साँझदेखि अवरुद्ध भएको टिकटक पुन: सञ्चालनमा आएको छ । सोमबारबाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले ‘टिकटकलाई जोगाउने’ बताएपछि सेवा सुचारु गरिएको टिकटकले उल्लेख गरेको छ । टिकटकले ट्रम्पलाई नै देखाएर सेवा सञ्चालनमा ल्याएको हो ।राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो ।टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो ।टिकटकसम्बन्धी अमेरिकी संघीय सरकारको कानुनलाई त्यहाँको सर्वोच्च अदालतले सदर गरेसँगै शनिबार साँझदेखि नै अमेरिकामा टिकटक चल्न छोडेको थियो । अदालतले शुक्रबार चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी सञ्चालन बिक्री गर्न वा आगामी आइतबारदेखि देशभर प्रतिबन्ध सामना गर्न सरकारले दिएको अल्टिमेटम सही भएको फैसला गरेको थियो ।