काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को माघदेखि चैत महिनासम्ममा १५ अर्ब २२ करोड अन्तर्राष्ट्रिय आर्थिक सहायता नेपाल भित्रिएको छ।
अनुदानतर्फ २ अर्ब ६१ करोड र ऋणतर्फ १२ अर्ब ६१ करोड गरी जम्मा १५ अर्ब २२ करोड अन्तर्राष्ट्रियआर्थिक सहायता प्रतिबद्वता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
गत तीन महिनामा भित्रिएको रकममा माघ ११ गते ऋणतर्फ जापान सरकारबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋणको प्रतिबद्धता पनि समावेश छ।
त्यस्तै, फागुन १६ गते विश्व बैंकबाट स्वास्थ्य क्षेत्रअन्तर्गत कोभिड प्रतिकार्यका लागि २ अर्ब १४ करोड ऋण रकम सहायताको प्रतिबद्धता प्राप्त भएको छ।फागुन २६ गते जापान सरकारबाट वाटर सप्लाई क्षेत्रअन्तर्गत विराटनगरस्थित वाटर सप्लाई इन्भेष्टमेन्ट प्रोजेक्टका लागि २ अर्ब ६१ करोड अनुदान रकम सहायताको प्रतिबद्धता प्राप्त भएको छ।
चालू आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा अनुदानतर्फ ९ अर्ब ४६ करोड २६ लाख र ऋणतर्फ १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख गरी जम्मा १ खर्ब २६ अर्ब ७ करोड २४ लाख अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको छ।