
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सत्तापक्ष भए पनि अहिले सरकारमा नरहेको टिप्पणी गरेका छन् ।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘सत्ता पक्षमा छौं तर सरकारमा छैनौं हामी । हामीले यो सरकारलाई खबरदारी गरिरहनुपर्ने आवश्यकता छ ।'
सरकारको कामकारबाही जे कुरामा चित्त बुझ्दैन त्यसमा खबरदारी गर्नुपर्ने उनले बताए ।हामी प्रतिष्पर्धी पनि हौं, भोलिको राजनीतिमा एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस हो। हामीले जे कुरामा चित्त बुझ्दैन, त्यसमा खबरदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ।’
उनले अहिलेको सरकार एमालेकरण भइरहेको त छैन भन्ने चिन्ता लागेको पनि सुनाए । संयन्त्रले सरकार चलाउने कम्युनिस्टहरूमा मात्रै लागू हुने उल्लेख गर्दै कोइरालाले अहिले केन्द्रदेखि पालिकासम्म त्यस्तै अवस्था रहेको बताए ।उनले सामाजिक सञ्जाल विधेयकमाथि पनि प्रश्न उठाए । नियमनका नाममा अभिव्यक्ति स्वन्त्रतालाई नियन्त्रण गर्न नपाइने उनको भनाइ छ ।कुनैपनि हालतमा सरकारले संसदमा पेश गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता गरेर सम्बन्धित सरोकारवालहरुसँग छलफलपछि मात्रै पुनः ल्याउनुपर्ने उनको भनाइ थियो । नेता कोइरालाले राजनीतिक स्थायीत्वका लागि यो गठबन्धन बनाउन आफूहरूले पहल गरे पनि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउने जमर्को गरिरहँदा लोकतन्त्र अफ्ठेरोमा परिरहेको बताए ।




























