नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
बुधवार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रश्तावको पक्षमा बहुमत भएकाले उहाँ निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभएको हो । एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनुभएकी घिमिरेको पक्षमा ३९ मत परेको थियो भने काँग्रेसकी विष्णुदेवी पुडासैनीले १६ मत प्राप्त गर्नुभएको थियो । बैठकमा ५५ जना सांसदहरुको उपस्थिति रहेको थियो ।अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नुभयो । गत चैत्र १५ गते तत्कालिन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएभएपछि सो पद रिक्त भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक चैत्र ३० गते शुक्रवार एक बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।