धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गर्दै हमाल मेयरमा निर्वाचित भएका हुन् ।हमालले २६ हजार आठ सय ६५ मत प्राप्त गरेका छन् । वडले १४ हजार आठ सय १७ मत पाए । धनगढीको निवर्तमान मेयर वड कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर चन्दले नौ हजार एक सय १५ मत पाए । हमालले मतगणनाको सुरुवातबाटै दोब्बरले अग्रता बनाएका थिए ।जितसँगै हमालले ०७४ को निर्वाचनमा व्यहोरेको हारको बदला लिएका छन् ।त्यतिवेलाको निर्वाचनमा हमाललाई दुई हजार सात सयको मतान्तरले पराजित गर्दै वड मेयरमा निर्वाचित भएका थिए ।उपमेयरमा एमालेकी कन्दकला राना १५ हजार चार सय ७९ मतसहित निर्वाचित भइन् । गठबन्धको तर्फबाट माओवादी उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६ सय ७० मत पाइन् । उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस कैलालीका पूर्वकोषाध्यक्ष प्रभाकर भण्डारीले ६ हजार ६ सय नाै मत पाए।