
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शुरु भएको बैठकलाई सम्बोधन गर्दै देउवाले खडकालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।बैठकमा सभापति देउवाले आफ्नो स्वास्थ्यका कारण पार्टीको उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने जिम्मेवारी सुम्पिएको बताए ।साथै केन्द्रीय कार्यसमिति बैठक विहीबारसम्म स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।आजको बैठकको शुरुमा नै देउवाले आफ्नो लिखित सम्बोधन पढेका थिए । सम्बोधनका क्रममा देउवाले भदौ २३ र २४ गतेको घटनाको छानबिनको माग गरेका छन् । साथै उनले उनले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारसँग माग पनि गरेका छन् ।




























