
एसीसी पुरुष प्रिमियर कपको पहिलो खेलमा नेपालले वैशाख ५ गते मलेसियासँग खेल्ने भएको छ ।एसियन क्रिकेट काउन्सिल(एसीसी) ले बिहीबार घोषणा गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा नेपालले मलेसियालाई प्रतिद्वन्दी पाएको हो ।नेपालले टियु क्रिकेट मैदानमा मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।वैशाख ५ गतेबाट १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।कुल २४ खेल हुने प्रतियोगिताको फाईनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।नेपालमा आयोजना हुने यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ ।




























