
पुण्य प्रसाई काठमाडौँ । त्यसमाथि थियो सहकारीको करोडौं, रास्वपा खडा भयो । बालेनले हालेको जगमा रविको लोकप्रियताको अहंकार, नयाँ अरुसँग किन मिल्ने भन्दै रास्वपाले भ्यागुते छात्ती फुलायो । अहंकारले भुँडी फुटेन, राम्रै सफलता पायो । तर यसपालि उसको तेजोबध भयो । रास्वपा खोजिरहेछ मिल्ने ठाउँ, बाबुरामदेखि कुलमानसम्म । सांसदको लोभ देखाउँछ तर सबैलाई के थाहा छ भने यसपालि रास्वपाले कसैलाई सांसद बनाउन सक्दैन । एकातिर उससँग अरुलाई बोक्ने ताकत छैन अर्कोतिर उसको अपराधको भारि कोही किन पो चाहन्छ ? रास्वपा रविको ठाउँमा कसैलाई अध्यक्ष बनाउन चाहँदैन सर्वविधितै छ । यो दुसाहस देउवा त गर्दैनन् भने रवि किन चाहन्थे ? त्यो अपराधको रौरवबाट निस्केर रास्वपालाई काँधमा बोकेर रविले पार लगाउलान भन्ने संभावना पनि छैन । अहिले रास्वपा र प्रचण्डको मर्ने बेलाको ठूलो धिप्प हो । हदै भए यसपालि यिनीहरु मिल्नेसम्म मात्र हो । दुहाली छेकेर केही थान माछी मार्लान् धेरै अन्डरस्टिमेट पनि नगरौं ।यसपालि कुलमान र हर्कले नयाँ प्रयोग गरे । कुलमानले पार्टीमा इन्जिनियर र डाक्टरको जमघट गरेका छन् भने हर्कले भरिया र मजदुर । यसखाले प्रयोगको परिणाम पनि यसपालिको निर्वाचनमा देख्न पाइने भो ।
कुलमानमा निडरता र आत्मविश्वास देखियो । आफू संयोजक नरहेर पनि उनले पार्टी बनाए तर हर्क डराए । हर्कले धराने राइभन्दा परकोलाई पार्टीमा घुसाउन चाहेनन्, डराए, अनिवार्य राख्नै पर्नेको कोटाको कुरा यहाँ नगरौं । महासचिव पनि भाइ केटालाई नै राखेछन्! सायद कोषाध्यक्षमा उनकी बहिनी होलिन् ? त्यसैले मैले हर्कको पार्टी राइ कल्याणकारी समाज भन्दा बढ्ता बन्न कठिन छ भनेको हो । कुनै आवेगमा होइन हर्कको साइकोलोजी र चेतनाको स्तर बुझेरै भनेको हुँ । र, जब कुलमान पार्टी बोकेर धरान पुग्छन् हर्कका पार्टी आधा मान्छे उज्यालो नेपालमा जोडिन्छन् । हर्कले अधिक आशा गरेको पूरा कोशी प्रदेशमा यही हुनेवाला छ । यो मूल्यांकन गर्नुपर्ने विषय हो गाली गर्नुपर्ने होइन ।हर्क र उनको लोकल ग्यांग कराउला, कुलमान विदेशी दलाल हो भन्दै तर यो आत्मरति सिवाय केही होइन । हर्क र कुलमानको फरक केहो भने, हर्कले ढुंगा बोक्छन्, कुलमानले पहाडै उचाल्छन् । हर्कलाई धरानका जनताले मेयरमा पनि योग्यता र क्षमता देखेर जिताएका होइनन् बालेनको लौरो देखेर जिताएका हुन् त्यसकारण अहिले पनि आशा गरेका होलान् भन्ने मलाई लाग्दैन ।मैदानमा बालेन आउन बाँकी छ । बालेन कसरी आउलान भन्ने चासो सबैलाई छ । सुनिन्छ उनी हिमानीलाई अध्यक्ष बनाएर अघि बढ्ने मुडमा छन् अर्थात् उनलाई यो सुशिला कार्कीको सरकारले निर्वाचन गर्छ भन्ने विश्वासै छैन । जुन दिन विश्वास होला पार्टी बोकेर पक्कै आउने छन् । जेहोस् यसपालिको लडाई नयाँ नयाँ र पुराना पुरानाका बीच नै हुने देख्दैछु । केपी ओली र देउवालाई गाली गरेर भोट ल्याउला भनेर नसोचे पनि हुन्छ । तर नयाँ नयाँले एकअर्कालाई चाहिं खुब गाली दिन्छन् यसपालि । र, अन्त्यमा यसपालि ओली नै सुपर पावर हुनेवाला छन् । एमाले सबैभन्दा भीमकाय बन्ला । कांग्रेस विभाजन भएन भने दोस्रो बन्ला नत्र दोस्रो पार्टी बालेनको बन्ने निश्चित छ । बालेनको क्रेज केही कम भएकै हो तर ग्राफ अरुको भन्दा धेरै माथि छ यति चाहिं नयाँ पुराना सबैले हेक्का राखे हुन्छ ।




























