
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई स्वायत्त बनाउनुपर्ने बताएकी छिन् । बुधबार कीर्तिपुरमा बसेको त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभामा विश्वविद्यालयको कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई स्वायत्त ढङ्गले काम गर्ने वातावरण बनाउनुपर्ने र राजनीतिबाट मुक्त बनाउनुपर्ने बताएकी हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन यस विषयमा काम गरिरहेको जानकारी दिँदै उनले भनिन्, ‘१७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुँदा रहेछन् । विश्वविद्यालयपिच्छे प्रधानमन्त्री कुलपति हुन साध्य पनि छैन। राजनीतिक व्यक्तिलाई कुलपति बनाउनु ठीक पनि होइन।’असारमा पारित हुनुपर्ने वार्षिक नीति कार्यक्रमका लागि मङ्सिर पर्खनुपर्ने अवस्था विश्वविद्यालयका लागि समेत राम्रो नभएको उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको सभाले नै कुलपति चयन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्री डोकोभरी कुलपतिको भारी बोकेर हिँडेर हुँदैन। भर्खर रोपेका बेला बिरुवालाई पानी हाल्ने हो, हुर्केपछि आफैँ बढ्छ।’अहिलेसम्म प्रधानमन्त्री कुलपति भए पनि अब आवश्यक नरहेको उनको तर्क थियो। उनले भनिन्, ‘सरकारले विश्वविद्यालयलाई हेर्नुपर्छ, तर नीति, नियम कानुन बनाउन हस्तक्षेप गर्नु हुँदैन। राजनीतिक व्यक्तिकै कारण असारमा पास हुनुपर्ने नीति तथा कार्यक्रम अहिलेसम्म पारित नभएको रहेछ।’ प्रधानमन्त्री कार्कीले आफू ६ महिनाको लागि मात्र सरकारमा गएको पनि बताइन् ।


























