
काठमाडौं । हङकङमा बुधबार राति लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ ।आगलागीमा ७६ जना घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार दिउँसो स्थानीय समय अनुसार २:५० बजेतिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो ।बुधवार राति सुरु भएको आगो कूल आठ टावरमध्ये सातवटामा फैलिएको थियो। हङकङका मुख्यमन्त्रीले आगो अहिले नियन्त्रणमा आएको बताएका छन् । उद्धार कार्य अझै जारी छ। अग्नि नियन्त्रकहरूले आज बिहान ९ बजेसम्म सबै फ्ल्याट जाँच पूरा गर्ने लक्ष्य राखेका छन्।
घटनास्थलमा उद्धार कार्य अझै जारी छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । आगलागीबाट विस्थापित सयौं मानिसका लागि अस्थायी बसोबासका व्यवस्था पनि नगर प्रशासनले गरेको छ । हङकङ प्रशासनले मृतकको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ ।
अधिकारीहरूले हराइरहेका व्यक्तिहरूको खोजी तथा घटनास्थलको विस्तृत अनुगमन जारी राखेका छन्।



























