बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित प्रमुख दीपेश थारुले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘एक्सन’ लिएका छन् ।
उनले सूचनामा भनेका छन्, शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रूपमा राजनीतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरीत कार्य गर्ने यस नगरपालिका अन्तर्गतका सामुदायिक स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्नु जानकारी गराइन्छ ।’
शिक्षकलाई राजनीतिक दलमा आवद्ध भए तत्काल राजीनामा दिन उनले निर्देशन दिए ।लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा उम्मेदवारी दिएका थारु विजयी भएका छन् । थारुले मंगलवार पदभार ग्रहण गर्नासाथ एक सूचना जारी गर्दै कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै यस्ता आचरण विरोधी काम तत्काल रोक्न निर्देशन दिए । यसबारे ७ दिनभित्र जानकारी दिन समेत उनले निर्देशन दिएका छन् ।

राजापुरमा प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी भएकी छन् । थारू ९ हजार ८०७ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका दीपकजंग शाहले ९ हजार ७६० मत पाए । मेयरमा नेकपा एमालेका पहारी चौधरीले ६ हजार ७२ पाएका थिए ।