
काठमाडौँ । फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही ४ फागुनदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्नेगरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्नेगरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।निर्वाचन आचारसंहितामा समावेश भएका व्यवस्थाअनुसार आजदेखि फागुन २१ गतेसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न आयोगले निर्देश गरेको छ ।त्यसैगरी आयोगले मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने बताएको छ ।




























