
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ।अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गर्दै इच्छुक उम्मेदवारलाई ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आह्वान गरेको हो।अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार, पूँजी बजार, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव अनिवार्य गरिएको छ। उम्मेदवारको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा विदेशी स्थायी बसोबास अनुमति (PR) नलिएको हुनुपर्ने मापदण्ड तोकिएको छ।प्राप्त आवेदनमध्ये सिफारिस समितिले संक्षिप्त सूची तयार गर्नेछ र आवश्यक परे थप विवरण पनि माग गर्न सक्नेछ।अध्यक्ष नियुक्तिका लागि गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिमा घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।यसअघि अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।



























