
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आगलागी हुँदा १२ वटा घरगोठ जलेर नष्ट भएका छन् ।स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्किएको आगोले उनको दुईवटा घर र एउटा गाईगोठ जलेको प्रहरीले जनाएको छ । आगोले छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर र एउटा गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक–एक वटा घरसमेत जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट पुगेको दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



























