
काठमाडौँ । नेपाल वायुसेवा निगम को सञ्चालक समिति सदस्यमा पाँच जना नियुक्त भएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियामा सहभागी उम्मेदवारमध्ये पाँच जनालाई सञ्चालक सदस्यमा नियुक्त गरेको हो ।मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार डा. दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेन्द्रभक्त श्रेष्ठ, रूप लामिछाने र लिलाराज ढकाल सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत वैशाख १२ गते सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए ।आवेदकहरूको शैक्षिक योग्यता, कार्यअनुभव, व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्यांकनपछि छनोट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट पाँच जना नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले नियुक्त भएका सबै उम्मेदवारलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित भई नियुक्ति प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।



























