
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्लेकार्ड प्रदर्शनसहितको विरोध कार्यक्रम निरन्तर जारी रहने बताएका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले जनताको पक्षमा, संसदको गरिमा र विधि–विधानको रक्षाका लागि आफू निलम्बन हुनसमेत तयार रहेको बताएका हुन् ।उनले आज पनि आफूलाई निलम्बन गर्न भनिएको तर त्यसो नगरिएको उल्लेख गर्दै सभामुख सबै दलप्रति समान र साझा हुनुपर्ने धारणा राखे । संसदीय दलका नेताहरूलाई बोल्न समय तोक्ने शैली उचित नभएको टिप्पणी गर्दै उनले सभामुख दलविशेषको नभई सम्पूर्ण संसदको हुनुपर्ने बताए ।साम्पाङले आफूहरूले उठाएका प्रश्नहरूको जवाफ नपाएको भन्दै विरोधका कार्यक्रम जारी रहने स्पष्ट पारे । उनले सरकार जनताप्रति जवाफदेही छ वा छैन भन्ने मूल्यांकन जनताले गर्ने उल्लेख गर्दै पाँचै वर्ष निरन्तर खबरदारी गर्ने बताए ।उनले दुई–तीन दिनको विरोधपछि मन्त्रीहरू संसदमा उपस्थित भए पनि प्रश्न गर्ने अवसर सभामुखले नदिएको आरोपसमेत लगाए ।



























