
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र संसारकै उत्कृष्ट शासन व्यवस्था भएको बताएका छन् ।१९औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको उल्लेख गरे । उनले लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुने मान्यता स्थापित भएको र संविधानले निर्दिष्ट गरेको व्यवस्थाअनुसार मुलुक अघि बढिरहेको बताए ।राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई राजनीतिक अधिकारसहित एकताबद्ध भएर अघि बढ्ने अवसर प्रदान गरेको बताए । राजनीतिक उपलब्धिमात्र परिवर्तनका लागि पर्याप्त नहुने उल्लेख गर्दै उनले सुशासन र शासकीय चरित्रमार्फत परिवर्तनलाई जनतासँग जोड्नुपर्ने धारणा राखे ।उनले प्राप्त राजनीतिक उपलब्धिको आधारमा अब आर्थिक समृद्धिको जग बलियो बनाउनुपर्नेमा जोड दिए । राज्यका निकायलाई थप गतिशील बनाउँदै प्रभावकारी सुशासन दिन आवश्यक रहेको उनको भनाइ थियो ।राष्ट्रपति पौडेलले वर्तमान सरकार बलियो जनादेशसहित बनेको उल्लेख गर्दै शासकीय सुधारका सय बुँदे कार्यसूचीमार्फत काम अघि बढिरहेको बताए । साथै, गणतन्त्रको मर्यादा र उपलब्धिलाई थप सुदृढ बनाउन सबैले आफ्नो आचरण सुधार गर्दै जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिए ।गणतन्त्र दिवस समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक पहिलो पटक राष्ट्रपतिले विशेष सम्बोधन गरेका हुन् ।



























