काठमाडौं– नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले क्षति पुर्याएका संरचनाको पुन:निर्माण र प्रभावित जनतालाई राहत दिने कार्यक्रम बजेटमा समावेश नभएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटका सिद्धान्त माथिको छलफलमा भाग लिँदै तामाङले मेलम्चीको बाढीबाट क्षतिग्रस्त संरचनाको पुन:निर्माण र प्रभावित जनतालाई राहत दिने विषयमा अर्थमन्त्रीको आँखा किन परेन? भन्दै प्रश्न गरे।
‘मेलम्चीको बाढी आयो, सरकारको अर्थमन्त्रीको आँखा पर्दैन। त्यो नेपालमै पर्छ हैन र? त्यहाँको नदी नियनत्रण गर्ने, जनतालाई पुनःस्थापना गर्ने कार्यक्रम ल्याउनुपर्दैन?’ उनले भने, ‘नीति तथा कार्यक्रमदेखि हेर्दै आएँ, तर केही भएन।’
उनले स्वास्थ्य बिमा नीजि क्षेत्रलाई दिँदा जनताको स्वास्थ्य अझै महंगो हुने पनि बताए। ‘बिमा कम्पनी भनेर बोलेको छ। कतै निजी क्षेत्रलाई दिन खोजेको त होइन?’ उनले भने, ‘जुनसुकै रोग लागोस् बिमाबाट शतप्रतिशत ओगट्छु भनेर किन भन्न सक्नु हुन्न?’