
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही माथि तथा पूर्वी क्षेत्रमा नेपालको तराई भू-भाग नजिक अवस्थित छ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा धेरै स्थान तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, लुम्बिनीका केही स्थान, कर्णालीका पहाडी क्षेत्र तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै, यी तीन प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।



























