काठमाण्डौ – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस : 'अब चाँही हेपाटाइटिसविरुद्ध कदम चाल्ने समय आयो' भन्ने नाराका साथ मनाईंदैछ । हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । बोलीचालीको भाषामा हेपाटाइटिसलाई 'जण्डिस' पनि भन्ने गरिन्छ ।सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ घातक मानिन्छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्ने डाक्टरले बताएका छन् ।हेपाइटाइटिस दुई तरिकाको हुन्छ । हेपाटाइटिसको शुरुको अवस्थालाई एक्यूट भनिन्छ भने पुरानो समस्यालाई क्रोनिक भनिन्छ । हेपाटाइटिसको प्रारम्भिक अवस्था शुरुको तीन महिनासम्म रहन्छ । यसको ६ महिनासम्म पनि उपचार नभएमा यसले क्रोनिक हेपाटाइटिसको रूप लिने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । तर नेपाल सरकारले भाइरल हेपाटाइटिस बी र सीका लागि राष्ट्रिय रणनीति बनाएपनि यसको रोकथाम र विरामीका लागि उचित व्यवस्थापन गर्न सकेको छैन् ।वीर अस्पतालका कलेजो रोग विशेषज्ञ प्राडा.दिलिप शर्माले सरकारले लिभर हेल्थ जस्तो महत्वपूर्ण विषयमा पनि प्राथमिकताकासाथ काम नगरेको गुनासो गरेका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले भाइरल हेपाटाइटिस ए, ई र भाइरल हेपाटाइटिस बी र सीलाई जनस्वास्थ्यको एउटा ठुलो मेजर थ्रेट मान्न आवश्यक रहेको भन्दै अहिले सरकारको तर्फबाट लिभर हेल्थको लागी जति काम कारवाही हुनुपर्ने हो त्यो नभएको गुनासो गरे ।विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ । डाक्टरका अनुसार हेपाटाइटिस रोगको रोकथामको पहिलो उपाय भनेको यसको पहिचान नै हो । हेपाटाइटिसको परीक्षण नियमित गर्नुपर्छ ।हेपाटाइटिस नभएका व्यक्तिले यसविरुद्धको खोप लगाउने, उमालेको पानी पिउने र सफा स्वच्छ आहार खाने, रातो मासु, रक्सी नखाने र जन्डिस तथा खाना अरुचिको लक्षण देखिएमा आवश्यक परामर्श लिन डाक्टरको सल्लाह छ ।