
काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको छ। यसअघि रोकिएका नगद पुरस्कारसमेत उपलब्ध गराइने र सरकारले पठाएका तथा आफ्नै खर्चमा प्रतियोगितामा सहभागी भएका खेलाडीको विवरण अध्ययन गरी आवश्यक निर्णय लिइने उनले बताए।त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी दिँदै कार्यकारी अध्यक्षका रूपमा नियुक्त गर्ने निर्णय भएको छ।मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।



























