
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।आज बिहान साढे ८ बजे बस्ने अर्थ समिति बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका प्रमुख कामकारबाही, धितोपत्र बजारको नियमन र विकासका लागि गरिएका प्रयास, प्राप्त उपलब्धि तथा लगानीकर्ताको हित संरक्षणका लागि अपनाइएका उपायबारे जानकारी लिने कार्यसूची रहेको छ।यस्तै, बिहान साढे ८ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुनेछ। उक्त छलफलमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, सम्बन्धित मन्त्रालयका सचिवहरू तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक सहभागी हुनेछन्।त्यसैगरी, बिहान ८ बजे बस्ने उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्या, त्यसको कारण तथा उपभोक्तामा परेको प्रभावबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवसँग छलफल गरिने समितिले जनाएको छ।



























