
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो।श्रेष्ठलाई केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापतिले पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका थिए। वरिष्ठ नेताको जिम्मेवारी सम्हालेको केही समयमै उनको निधन भएपछि कांग्रेस वृत्तमा शोक छाएको छ।नेपाली कांग्रेसका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि शवयात्रासहित उनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ।स्वर्गीय श्रेष्ठ स्याङ्जाबाट निर्वाचित भई उपप्रधानमन्त्री तथा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता थिए। उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्।



























