
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको बताए ।लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू कमजोर बन्दै गएको उल्लेख गर्दै उनले साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिको दबाब र हस्तक्षेप बढिरहेको दाबी गरे ।उनले विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा निर्माण आवश्यक रहेको बताए ।प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको स्मरण गर्दै वर्तमान परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए ।कम्युनिस्ट आन्दोलन कुनै समय उर्वर रूपमा अगाडि बढे पनि अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो संकटमा पर्नुको कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो । इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कमजोरी पहिचान गर्ने ठाउँमा ल्याइपुर्याएको उनले बताए ।गत भदौ २३ र २४ गतेको विध्वंसात्मक घटनाले प्रतिक्रान्तिको भयावह अवस्था देखाएको उल्लेख गर्दै प्रचण्डले त्यसबाट समेत पाठ सिकेर कम्युनिस्टहरूले विगतका गम्भीर त्रुटिको समीक्षा गर्नुपर्ने बताए ।नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गर्दै ठूलो त्याग र बलिदानमा साथ दिएको तथा निर्वाचनमा समेत अत्यधिक मत दिएको स्मरण गर्दै उनले त्यति ठूलो जनसमर्थनका बाबजुद कम्युनिस्ट आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताए ।प्रचण्डले कम्युनिस्ट नेता तथा कार्यकर्ताले विगतका कमजोरीको गम्भीर आत्मसमीक्षा गर्दै मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र भएको एकतालाई दिगो बनाउन कठिन हुने उनको भनाइ थियो ।.




























