
मुस्ताङ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानका लागि मुस्ताङको कोरला नाका वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग हुन थालेको छ ।रसुवामा आएको बाढीपछि मात्रै चीनबाट सामान बोकेका १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए ।उनका अनुसार मुख्य उत्तरी नाका प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै कोरला नाकातर्फ जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ ।बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै कोरला नाकाको सडक तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताए ।आगामी दसैँ–तिहारलाई लक्षित गर्दै आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन कोरला नाकाबाट हुने आयातलाई अहिले नै व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।तुलाचनले रसुवागढी र तातोपानी नाकाबाट हुने आपूर्ति प्रभावित भएकाले कोरला नाका अहिले महत्त्वपूर्ण वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि आएको बताए । चीनबाट दैनिक आवश्यक पर्ने उपभोग्य सामग्री सहज रूपमा भित्र्याउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ ।‘अहिलेको अवस्थालाई हेर्दा कोरला नाका वैकल्पिक मात्रै होइन, आगामी दिनमा चीनसँगको व्यापारको महत्त्वपूर्ण नाका बन्न सक्छ । त्यसैले सडक, भन्सार, पार्किङलगायतका पूर्वाधार समयमै तयार गर्नुपर्छ,’ तुलाचनले भने ।मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका लामो समय बन्द रहेर व्यापारिक चाप कोरला नाकातर्फ मोडिए दैनिक करिब एक सय कन्टेनर व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ । तर, हाल उपलब्ध जनशक्ति र पूर्वाधारबाट त्यस्तो चाप व्यवस्थापन गर्न चुनौती हुने उनले बताए ।उनका अनुसार हाल कोरला नाकाबाट दैनिक १० देखि १२ वटा कन्टेनर जाँचपास भएर नेपाल प्रवेश गरिरहेका छन् ।रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि कोरला नाकामा बढेको चापले यसको व्यापारिक सम्भावनासमेत थप उजागर गरेको छ । दसैँ–तिहारलाई लक्षित गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन तथा बढ्दो कन्टेनर आवागमन व्यवस्थित गर्न सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायबीच तत्काल समन्वय आवश्यक देखिएको छ ।



























