
काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ।जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्लाभर ग्यासको बिक्री–वितरण अवस्थाबारे सघन अनुगमन भइरहेको जनाएको छ। प्रशासनले सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा सम्बन्धित विक्रेता तथा वितरकमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।त्यस्तै, ग्यास लुकाएर राख्ने, अनावश्यक रूपमा भण्डारण गर्ने वा कृत्रिम अभाव सिर्जना गरी बिक्री नगर्ने गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।ग्यास लुकाएको वा भण्डारण गरेर बिक्री नगरेकोबारे जानकारी भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा सम्पर्क गरी सूचना दिन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।



























