
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडकखण्डमा असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ ।भदौ २८ गतेदेखि परीक्षणका रूपमा केही सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेपछि दुईतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि सडकखण्डमा यातायात अवरुद्ध भएको थियो ।सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो । अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गर्न सुझाव दिइएको थियो ।सोही सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी करिब ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो । प्राविधिकसहित करिब ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि निर्माण सुरु भएको दशौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधनलाई परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।हाल सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । ग्राभेलको काम भोलिसम्म सम्पन्न गरी असोज १ गते बिहानदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।



























