
हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो पाँच महिनामा ६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार वैशाखदेखि हालसम्म ६ हजार १२५ जना विदेशी पर्यटक जिल्ला भित्रिएका हुन् ।कार्यालयका अनुसार हुम्ला प्रवेश गर्ने विदेशी पर्यटकमध्ये ३ हजार ५६ जना महिला र ३ हजार ६९ जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर युवराज ढकालले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।हुम्लाको हिल्सा नाका हुँदै पवित्र तीर्थस्थल कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रहेको छ । उनीहरू काठमाडौं र नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा पुगेका हुन् ।विदेशी पर्यटकको आगमन बढेसँगै सदरमुकाम सिमकोट र हिल्सा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले राम्रो आम्दानी गरेका छन् । होटल व्यवसायी संघका अध्यक्ष मिम लामाका अनुसार यस वर्ष एउटा होटलले मात्रै १० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।अन्य मुलुकबाट हुम्लाका विभिन्न स्थानमा घुम्न आउने पर्यटकको संख्या भने तुलनात्मक रूपमा कम छ । यद्यपि कैलाश–मानसरोवर दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको आगमन अझै जारी रहेको व्यवसायीहरूले बताएका छन् ।हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीका अनुसार भारतीय तीर्थयात्रीको आगमनले होटल व्यवसायी मात्रै नभई स्थानीय नागरिकलाई समेत रोजगारीको अवसर सिर्जना भएको छ । सिमकोटदेखि हिल्सा नाकासम्मका होटल, यातायात तथा अन्य व्यवसायमा यसको प्रत्यक्ष प्रभाव परेको उनले बताए ।कैलाश–मानसरोवर पुग्न हुम्लाको मार्ग तुलनात्मक रूपमा छोटो दूरीको भएकाले जेठदेखि विदेशी तीर्थयात्रीको आगमन बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ । जेठ, असार, साउन र भदौलाई कैलाश–मानसरोवर दर्शनका लागि उपयुक्त समय मानिन्छ ।विदेशी पर्यटकको आगमनबाट स्थानीय तहले समेत आम्दानी गर्दै आएका छन् । सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्क उठाउँदै आएका छन् । भारतीय पर्यटकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरिएको छ ।



























