
हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको छ ।शनिबार पहिरो खस्दा करिब १०० मिटर सडक क्षेत्रमा ढुंगा थुप्रिएपछि कर्णाली करिडोरमा सवारी आवागमन ठप्प भएको हो । सडकमा ठूलाठूला ढुंगा खसेका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन् । अदानचुली गाउँपालिका–२ का कमल बुढाका अनुसार स्वास्थ्य शिविरमा सहभागी हुन आएका उनीहरू पहिरोका कारण गन्तव्यमा पुग्न सकेका छैनन् ।प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन आवश्यक पहल भइरहेको जानकारी दिए । उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन ।सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलगायत उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको उनले बताए । आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको छ ।दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले ती ढुंगा फुटाएर सडक सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।



























