
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा रातिको समयमा समेत विस्तार गर्नुपर्ने बताएकी छन्।ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तारसम्बन्धी कार्यक्रममा बोल्दै डंगोलले स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको बताइन्। उनले रात्रिकालीन बस सेवा विस्तारसँगै काठमाडौं उपत्यका रातिसमेत चलायमान बन्ने धारणा राखिन्।“स्थानीय सरकारको मूल दायित्वमध्ये एउटा महत्वपूर्ण दायित्व स्थानीय यातायातको विस्तार गर्नु हो। त्यो दिउँसो मात्रै होइन, अब राति पनि हाम्रा यातायात चल्छन्,” उनले भनिन्, “काठमाडौं उपत्यका दिउँसो मात्र चलायमान छैन, अब राति पनि चलायमान हुन्छ।”डंगोलका अनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बूढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो। उक्त सेवा सञ्चालन भएको पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उनले जानकारी दिइन्।उनले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँच विस्तार गर्ने माध्यमका रूपमा समेत बुझ्नुपर्ने बताइन्।उनका अनुसार रात्रिकालीन सार्वजनिक यातायात विस्तारले रातको समयमा काम गर्ने, अध्ययन गर्ने तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नागरिकलाई आवतजावतमा सहजता पुग्नेछ।



























