
काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागमा आज (मङ्गलवार) बसेको सरोकारवालाहरूको संयुक्त बैठकले देशभर चल्ने लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि बुकिङ खुला गर्ने निर्णय गरेको हो।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वमा घर जाने यात्रुहरूको चाप र सहजतालाई मध्यनजर गर्दै असोज २३ गतेदेखि टिकट बुकिङ सुरु गरिने जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको विभागमा भएको उक्त बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, यातायात व्यवसायी राष्ट्रिय महासंघ र उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकले चाडपर्वका समयमा हुन सक्ने कालोबजारी रोक्न र सुरक्षित यात्रा सुनिश्चित गर्न अनुगमनलाई समेत तीव्र बनाउने सहमति गरेको छ।



























