
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमा स्वयंसेवकका रूपमा सेवा गर्न इच्छुक ४५ देखि ७५ वर्ष उमेर समूहका नागरिकसँग आवेदन माग गरेको छ ।महानगरपालिकाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सहरी सौन्दर्यीकरण, सहकारी, विपद् व्यवस्थापन, साना तथा घरेलु उद्योग, खाद्य गुणस्तर, फोहोरमैला व्यवस्थापन, स्थानीय कर अभियान तथा आकाशे पानी सङ्कलन र उपयोगलगायत क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने उद्देश्यले आवेदन आह्वान गरेको हो ।महानगरपालिकाका अनुसार ४५ वर्ष उमेर पूरा भई ७५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिक, गैरआवासीय नेपाली तथा प्रचलित कानुनबमोजिम अनुमति प्राप्त विदेशी नागरिकले स्वयंसेवकका लागि आवेदन दिन सक्नेछन् ।स्वयंसेवकका रूपमा छनोट हुने व्यक्तिले अवैतनिक रूपमा स्वेच्छाले सेवा गर्नुपर्नेछ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।यससम्बन्धी आवेदन प्रक्रिया तथा थप जानकारी महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np बाट प्राप्त गर्न सकिनेछ ।



























