काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मासँग विभिन्न विवादीत प्रशंगहरु जोडिएर आएपछि त्यसले सरकार र पार्टीमाथिनै असर पारेको भन्दै उनलाई जिम्मेवारीबाट मुक्त गर्ने विषयमा सत्ता गठबन्धनबीच छलफल सुरु भएको छ ।बालुवाटार निकट उच्च स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्षबीच पनि एक चरण छलफल भइसकेको छ । स्रोतले भन्यो,‘देउवाले प्रचण्डलाई मन्त्रीपरिषद हेरफेर गर्नु पर्दा अर्थमन्त्रीलाई के गर्ने, धेरै विवाद आयो, भरसक पार्टीभित्र सहमति जुटाएर फिर्ता बोलाउनु राम्रो हुन्छ भन्नुभएको छ ।’अर्थमन्त्रीबारे शुक्रबार अबेरतिरै प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच फोनमा कुराकानी भएको थियो । यसपछि अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे नेकपा माओवादीभित्र पनि अनौपचारिक छलफल भइरहेको बताइएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको हो ।
सत्ता गठबन्धनका दुई नेताबीच मन्त्रिपरिषद हेरफर गर्दा माओवादीलाई गृह दिएर कांग्रेसले अर्थ राख्ने विषयमा पनि कुराकानी भएको बताइएको छ । निर्वाचनसम्म भएपनि नेता नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने योजनामा अध्यक्ष दाहाल छन् । तर, मन्त्रालयका विषयमा सहमति भएको छैन ।माओवादीमा अहिले अर्थमन्त्रीको गतिविधिलाई लिएर अनौपचारिक छलफल पनि बढीरहेका छन् । अर्थमन्त्री शर्माको राजीनामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन प्रकरणबाटै माग्न थालिएको थियो । अमेरिकी डलर प्रकरण, कर विवाददेखि रातारात खेताला लगाएर बजेटमा मनपरी गरेको आरोप अर्थमन्त्रीमाथि लगाइएको छ ।प्रतिपक्षी नेकपा एमालेले पटक पटक अर्थमन्त्रीको राजीनामा माग गरिरहेको छ । सोमबारको संसद बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराइले पनि उनीको राजीनामा तत्काल आउनुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीसहित र पार्टीभित्रैबाट अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए ।