काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ११.८२ अंकले गिरावट हुँदा १९२१.३१ अंकको विन्दुमा बन्द भएको छ ।आइतबार कुनै नीतिगत सुधार तथा अर्थतन्त्रमा नै प्रभाव पार्ने घटनाक्रम नहुँदा पनि करिब ९५ अंकको अस्वाभाविक वृद्धि भएको नेप्सेमा हिजो सोमबार र मंगललबार पनि लगातार गिरावट भएको छ । जीवन बिमा उपसूचकसँगै बैंकिङ उपसूचकमा सामान्य वृद्धि हुँदा लगानी, हाइड्रोपावर, विकास बैंकलगायत उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन भएको छ । आइतबार र सोमबार लगातार दुई अर्ब नाघेको कारोबार रकम आज एक अर्बमा सीमित भएको छ ।आज दिनभर बजारमा एक अर्ब पाँच करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भयो । एसियन लाइफको सर्वाधिक सात करोड ३१ लाखको कारोबार भएको छ । लाइफ इन्स्यारेन्स कर्पोरेसन नेपालको पाँच करोड ४४ लाखको कारोबार भयो ।आज बजारमा १९२ कम्पनीको सेयर कारोबार भएकामा १४६ कम्पनीको सेयर मूल्य गिरावट भएको छ । ३७ कम्पनीको सेयर मूल्य बढेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।आज बजार कारोबार भएका मध्ये सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७.७४ प्रतिशत तथा कृषि विकास बैंकको सेयर मूल्य ५.१० प्रतिशले वृद्धि भएको छ ।जनरल इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ४.७५ प्रतिशतले गिरावट हुँदा युनाइटेड इर्दी मार्दी एन्ड आरबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.७० प्रतिशतले गिरावट भएको छ ।