काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र माओवादीको बीउ रोपिएको र केही समयमा फल्न थाल्ने बताएका छन् ।मूल नेतृत्व (केपी ओली) प्रतिगमनकारी भए पनि त्यहाँभित्र ठूलो तप्का इमान्दार रहेको उनले बताए ।विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले एमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने बताएका हुन् ।‘केपी ओली एमाले नेतृत्वमा हुँदा प्रतिगमन भयो । त्यो नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्याउन सकिन्छ । तीन वर्षको अनुभव एमालेभित्रका पनि हजारौँ कार्यकर्ता नेतालाई केन्द्रीकृत गरेर आएका छौं,’ प्रचण्डले भने, ‘त्यहाँ बीउ रोपिएको छ, बीउ रोपेर आएका छौं । केही समयपछि त्यो फुल्छ फल्छ ।’प्रचण्डले पूर्वमाओवादी घटकका सबै दल मिल्दा अहिले पनि देशको ठूलो शक्ति बन्न सकिने भन्दै मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई ठण्डा दिमागले सोच्न आग्रह गरे ।‘माओवादीहरू मिल्नु त छँदैछ, केही दिनमा संस्थागत एकता हुन्छ । तर पूर्व माओवादीहरू मिलेर मात्र पुग्दैन कम्युनिस्ट एकता गर्नुपर्छ,’ प्रचण्डले भने ।