काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास भएको आरोप लगाएका छन् ।संसद दिवसका अवसरमा भएका कार्यक्रममा उनले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताए ।‘कहिले काहिं हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको र अहिलेको संसदमा नेकपा एमालेले बारम्बार अवरोध गरिरहेकोप्रति खनालको भनाइ लक्षित थियो ।खनालले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधि सभामा पनि जनताको कुरा राख्न नपाइएको, सरकारले कानुन बनाउन नपाएको बताए ।नेता खनालले संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको बताए ।उनले पूर्व प्रशासकहरुले ठीकसँग काम नगरेकै कारण हामीले हाम्रो नक्सा यो हो भनेर अन्तर्राष्ट्रिय समुदायका राख्दा पनि विवाद आएको बताए ।२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने अपेक्षा गरेको भए पनि माछा माछा भ्यागुतो भएको टिप्पणी उनले गरे ।