काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार कूशासनमा लिप्त रहेको बताएका छन्। राजधानीमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले वर्तमान सरकार घृणाको पात्र बनिरहेको बताए।
उनले भने, ‘एकपल्ट विहे हुन्छ। अनि फेरि डिभोर्स हुन्छ। अनि फेरी विहे हुन्छ, डिभोर्स हुन्छ। त्यस पछाडिको कारण डिभोर्सचाहिँ साँचो हुन्छ। विहेचाहिँ नक्कली हुन्छ। त्यसकारण साँचो डिभोर्स गर्नका लागि नक्कली विहे गर्न एमालेले हतार गर्दैन।’राज्यका हरेक अंगलाई विस्थापित गर्ने, संवैधानिक अंगलाई विस्थापित गर्ने काम बर्तमान गठबन्धनबाट भएको उनको भनाइ छ। थुप्रै ऐनहरु संविधान सम्मत बनाउनुपर्ने भए पनि ती कामहरु ठप्प भएको ओलीले बताए ।उनले भने, ‘भोलि परमादेशको एक वर्ष हुन्छ। एक वर्षयता सरकारले गरेका काम कारबाहीहरु चु्स्त दुरुस्त छैनन्। मान्छेलाई मन्त्री बनाउनका लागि जागिर खुवाउनका लागि, समूहगत स्वार्थपूर्तिका काम भए। सरकार कसले चलाउँछ, दुनियाँलाई थाह छ, मैले के भन्ने। उहाँ सरले चलाउनुहुन्छ कि मेडमले, दिदीले चलाउनुहुन्छ की भिनाजुले चलाउनुहुन्छ। प्रधानमन्त्रीले चलाउनुहुन्छ कि पावर छ भन्नेले चलाउनुहुन्छ। त्यतातिर म जान चाहन्न। देशमा संकट छ, नयाँ काम गर्न बैंकले ऋण दिँदैन। ठेकेदारले भुक्तानी पाउँदैन। नयाँ आयोजना सुरु गर्न सकिएका छैनन्। इक्वीपमेन्ट आयात गर्ने पैसा पनि छैन। आयात नगरिकन आत्मनिर्भरतातर्फ अहिले जानसक्ने अवस्था छैन। यस्तो अवस्थामा हामी छौं।’