हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज किसानलाई वितरण गरिएको हो ।दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको छ ।हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले सिन्धुलीका किसानलाई वितरण गरेको हो । उत्पादनको हिसाबले कोरियाका टप ९परीक्षण भएका० दुई वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ ।डा श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाई ल्याइएको बताउनुभयो । दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारका लागि ल्याएको उहाँको भनाइ थियो । उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताउनुभयो ।नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको डा श्रेष्ठले बताउनुभयो । उहाँले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याइएको बताउनुभयो ।गाईलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईको क्षमता प्रतिबेत आठदेखि १६ हजार लिटर दूध रहेको बताइएको छ । रासस