सरकारले पेट्रोलिय पदार्थको अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका १ जलजलेको ४५ रोपनी जग्गा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्योग वाणिज्य मन्त्रालयको प्रस्तावमा जलजलेमा रहेको ४५ रोपनी जग्गा दिने निर्णय भएको जानकारी दिनुभएको हो ।सरकारले बागमती बाँध आयोजनाको काम अघि बढाउन काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्ती गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो।त्यसैगरी, भारतमा आयोजना हुने नेपाल-भारत विद्युत व्यापार सम्झौता अन्तर्गतको संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालक समितिको १० औं बैठकमा भाग लिन ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने, सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने, २०७९ फागुन १ गतेदेखि ५ गतेसम्म रक्षामन्त्रीको भारत भ्रमणलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो।प्रवक्ता शर्माका अनुसार सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत १२ औं तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फेसटुफेस मिटिङमा सहभागी हुन स्वीकृति दिने निर्णय सरकारले गरेको छ।त्यसैगरी, सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत सरुवा गर्ने निर्णय गरेको छ। Source:Gorkhapatra