
राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवम् धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता रहेको औंल्याएकी छन् ।महाशिवरात्री पर्वको शुभकामना व्यक्त गर्दै उनले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानवजातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गरिरहेको बताइन् ।उनले प्रकृति, योग र जीवनसँग अभिन्न सम्बन्ध राख्ने सनातन संस्कृतिको उद्भव एवम् विकासमा नेपाली परम्पराको विशिष्ट योगदान रहेको बताएकी छन् ।मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास प्रतिविम्बित भएको पाइने राष्ट्रपति भण्डारीको भनाइ छ ।पौराणिक साहित्यमा शिवको निवास र विचरण स्थलका रूपमा वर्णन गरिएका पशुपति क्षेत्र, हिमवत खण्ड र मानस खण्डको भूभाग मूलभूत रूपमा नेपालमा पर्ने शुभकामना सन्देशमा उल्लेख छ ।Source: www.nepalviews.com



























