
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी, शुद्धोधन गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरलाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुले उत्खनन् गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस लिएको अख्तियारले जनाएको छ । गाउँपालिकाको कार्यालयबाटै पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।




























