
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।पार्टी सरकारमा सहभागी हुन लागेको जानकारी भन्दै नेकपा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता एवम् पूर्वमन्त्री खगराज भट्टले मन्त्री हुनेको नाम टुङ्गो लागिसकेको बताउनुभयो । उहाँकाअनुसार माओवादी केन्द्रले पाउने सामाजिक विकास मन्त्रीमा अछामका झपडबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कैलालीका रमेशसिंह धामी जानु हुनेछ ।यस्तै, पार्टीले राज्यमन्त्रीमा डडेल्धुराकी गीतादेवी माललाई सरकारमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो । पार्टीबाट मन्त्रीमा सामेल हुनेहरूको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको भन्दै उहाँले नवनियुक्त मन्त्रीहरूको आज साँझ नै शपथ हुने जानकारी दिनुभयो ।चुनाव लगत्तै प्रदेश सभाका बहुमत सदस्य आफूसँग रहेको दाबी पेस गर्दै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेको एक महिनामै विश्वासको मत नपाएर ढल्नुभयो । अनि संवैधानिक प्रावधानअनुसार प्रदेश प्रमुखले सबैभन्दा ठुलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।प्रदेश सभाको ठुलो दलको हैसियतमा कांग्रेसका कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ नेतृत्वको सरकारले आज एक सय दिन पुरा गरेको छ ।




























