
चाबहिलकी सरिता रिजाल दिउँसो एक बजे एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभएको थियो । त्यहाँ बिहानै पुगे दिनभरमा काम सकिने भए पनि ढिला पुगेकाले अर्को दिन पनि आउनुपर्नेमा उहाँमा चिन्ता थियो ।कार्यालय पुगेको झण्डै आधा घण्टामै चालक अनुमतिपत्र लिएर बाहिरिँदा रिजाल खुसी देखिनुहुन्थ्यो । आफूले सोचभन्दा कम समयमै काम भएकाले उहाँमा खुसी छाएको हो । डेढवर्ष पहिले चालक अनुमतिपत्र नवीकरणका लागि आउँदा दिनभर लागेको थियो । तीन ठाउँमा लाम बसेर बल्ल कार्यालय समय सकिनु पहिले काम भएको रिजालले सम्झनुभयो । सेवाग्राही जो चाँडो आयो उसले पहिले र पछि आउने सेवाग्राहीले पछि सेवा पाएका थिए। उहाँले भन्नुभयो, “भीड कम भएर हो कि किन हो चाँडै लाइसेन्स लिन सकियो ।”बाह्रै महिना र बिहानदेखि साँझैसम्म भिडभाड देखिने एकान्तकुनास्थित उक्त कार्यालयको चालक अननुमतिपत्र शाखामा विगतमा भन्दा सेवाग्राहीको भीड केही कम भएको छ । सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या कम हुनु, टोकन लागु हुनु, काउन्टर थप हुनु, परीक्षामा ७० प्रतिशत आउँदा पास गर्ने प्रणाली लागु हुनुलगायत कारणले भिडभाड केही व्यवस्थित भएको कार्यालयले जनाएको छ ।पहिले एउटै काउन्टरबाट नवीकरण र नयाँ चालक अनुमतिपत्रको काम भइरहेकाले एउटा ठाउँमा भीड थुप्रिएको भए पनि अहिले त्यो व्यवस्थित गरिएको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । नवीकरण र नयाँ चालक अनुमतिपत्रका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “कार्यालयलाई सेवा दिन पनि सजिलो र सेवाग्राहीलाई पनि सजिलो भएको छ ।”कार्यालयमा चार पाँच वर्ष पहिलेसम्म बिहान चारपाँच बजे पहिलेदेखि नै लाम हुने गरेको थियो । कार्यालयमा सेवाग्राहीको चाप व्यवस्थित गर्न कोभिडपछि कार्यालय सञ्चालन गर्दा अनलाइनबाट फारम लिन थालिएको थियो । अहिले सेवाग्राहीले फारम भरिसकेर मेडिकल जाँचका लागि मात्रै आउनु परेकाले पनि यहाँको भीड कम भएको हो । गत वर्षसम्म पनि बिहान ६ बजेदेखि लाम हुने गरेकामा अहिले बिहान साढे नौ बजेभन्दा अघि मान्छे आउने नगरको कार्यालय प्रमुख कपालीले बताउनुभयो ।पहिलो पटक अनुमतिपत्रको फारम भरिसकेर त्यसको स्वीकृत गर्ने मान्छे मात्रै चाँडै आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एक दिन स्वास्थ्य जाँच गराएर फारम बुझाएपछि अर्को दिन लिखित र त्यो पास हुँदा ट्रायल हुने गरेको छ ।”काठमाडौँ उपत्यकाका अरू यातायात कार्यालयसँगै यो कार्यालयले गत फागुनदेखि चालक अनुमतिपत्रको परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरिएकाले पास हुनेको सङ्ख्या बढेको हो । पासदर घट्दा त्यसले भिडभाड कम गरेको कार्यालयले जनाएको छ ।विगतमा कार्यालयमा दरबन्दीअनुसार जनशक्ति नहुने समस्या थियो । अहिले दरबन्दीभन्दा बढी कार्यरत छन् । विगतमा कार्यरत कर्मचारीमध्ये कतिपय काम कारबाहीमा त कतिपय निलम्बनमा पर्दा पनि यहाँ जनशक्ति कम हुने गरेको थियो । पहिले कर्मचारी सरुवा हुन नमान्ने वा सरुवा भए पनि छिटै फर्किने गरेका थिए । कतिपय कर्मचारी एक महिना बसेर जागिर जाने डरले गइहाल्ने गरेको त्यहाँ कार्यरत कर्मचारीको भनाइ थियो । अहिले दरबन्दीभन्दा बढी कार्यरत रहँदा काम गर्न सजिलो भएको प्रमुख कपालीले बताउनुभयो ।काठमाडौं उपत्यका मात्रै होइन देशभरका यातायात कार्यालयमध्ये सबैभन्दा बढी सेवाग्राहीको चाप यही कार्यालयमा रहेको छ । पहिले उपत्यकामा यो मात्रै कार्यालय थियो । पहिले एउटा अञ्चलबाट अर्को अञ्चलीकरण गर्न मिल्ने व्यवस्था थियो । त्यतिबेला धेरैले यहीँ सारेका थिए । विसं. २०७६ देखि भने एउटा प्रदेशबाट अर्को प्रदेशमा सार्न नमिल्ने भएको प्रमुख कपालीले बताउनुभयो ।सरकारको सबै क्षेत्रमा कागजरहित सरकार बनाउने अवधारणा छ । यातायात कार्यालयको भने फारम लिने र राजस्व बैङ्कमा जम्मा गर्ने बाहेक स्वास्थ्य जाँचलगायत कामका लागि कार्यालय आउनुपर्ने व्यवस्था छ । रासस




























