राष्ट्रपतिमा रामचन्द्र पौडेल (पुरुष) निर्वाचित भइसकेकाले उपराष्ट्रपति महिलालाई नै बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट दरपिठ भएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा पेस गरेको रिट सर्वोच्चले मंगलबार दरपिठ गरेको हो । रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको हो । यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताएका थिए ।