
लेखनाथ, जेठ २९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभएको छ ।उहाँहरू दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । गुरुङ छैटौँ पटक मन्त्री बन्नुभएको हो भने देवकोटा पहिलो पटक मन्त्री बन्नुभएको हो । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी गुरुङ गण्डकीका सबैजसो सरकारका मन्त्री बन्नुभएको छ ।देवकोटा गोरखा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटालाई माओवादी केन्द्रले कारबाहीअघि बढाएको छ ।सोमबार माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गरी देवकोटाले पाण्डे सरकारलाई मत दिनुभएको छ थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको थियो ।सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे नेतृत्वले अझै दुई मन्त्रालय आफैँसँग राख्नुभएको छ । विश्वासको मत दिएको राप्रपा सरकारमा आएपछि मन्त्रिमण्डल पूर्ण हुने कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताउनुभयो ।gorkhapatra




























