पोर्चुगलका विख्यात फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी पत्नी गर्जिना रोड्रिगेजले आफ्नो नवजात शिशुको मृत्यु भएको बताएका छन् । जुम्ल्याहा छोरा र छोरीमध्ये सन्तानमध्ये छोराको मृत्यु भएको उनीहरूले बताएका हुन् ।म्यान्चेस्टर युनाइटेडका खेलाडी रोनाल्डोले शिशुको मृत्युबाट दुखी बनेको प्रतिक्रिया दिएका छन् । 'कुनै पनि अभिभावकले महसुश गर्नसक्ने ठूलो पीडा' भएको उनले प्रतिक्रिया दिएका छन् ।
३७ वर्षीय रोनाल्डो र २८ वर्षीया रोड्रिगेजले लेखेका छन्, 'हाम्रो छोरा, तिमी देवदूत हौ । हामी सधैँ माया गरिरहने छौं ।' यस्तै उनीहरूले आफ्नी छोरी जीवित नै रहेको जानकारी दिएका छन् ।यसबारे रोनाल्डो दम्पत्तिले एक सूचना जारी गर्दै जानकारी दिएका हुन् । साथै यस घटनाले आफूहरू विक्षिप्त बनाएको र गहिरो दुखमा पुर्याएको उनीहरूको भनाइ छ । साथै यस जटिल समयमा गोपनीयता कायम गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।