
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रीत गरेको बताउनुभएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजन बजेटक सन्दर्भमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको बजेट न्यून रहेको भन्दै सीमित स्रोतसाधनका बाबजुद पनि खेलकुद क्षेत्रको समग्र सुधारमा ध्यान केन्द्रीत गरेको बताउनुभएको हो । उहाले मूलपानी क्रिकेट रङ्गशाला निर्माण, कीर्तिपुरको क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान, खेलाडी फिटनेस हल, खेलकुद तालिम केन्द्र स्थापना कार्यलाइ प्राथमिकतामा राखेको जानकारी दिनुभयो । बजेटमार्फत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु ६० करोड बजेट विनियोजन भएको तथा मूलपानी क्रिकेट रङ्गशालाका लागि रु ५० करोड रकम व्यवस्था गरिएको उहाको भनाइ छ । उहाले सवैको सुझावका आधारमा खेलकुद ऐन संशोधनको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।मन्त्री श्रेष्ठले स्थानीयस्तरबाटै खेलकुदका तालिम प्रदान गर्न खेलकुदका प्रशिक्षक खटाइएको, बृहत् खेलकुदको तयारीका लागि राष्ट्रियस्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडीलाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको पनि बताउनुभयो । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाइ पदक जितेर आउने बित्तिकैबैङ्कखातामा पुरस्कारको रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाले बताउनुभयो ।




























