
काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् ।फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे ।गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो ।
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोश्रो सेटमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोश्रो सेटमा १७ अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए ।
विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोश्रो हार हो ।समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।




























