
काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ।वर्षाले प्रभावित बनेको खेलमा संशोधित लक्ष्य पछ्याएको युएईले ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रन मात्र बनाउन सक्यो। नेपालले युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिएको थियो।युएईका लागि मुहमद शहजादले सर्वाधिक ६५ रन बनाए भने खुजैमा तनवीरले ४९, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रनको योगदान दिए।नेपालका बलरमध्ये सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतक प्रहार गरे। विनोद भण्डारीले ५६, गुलशन झाले ४४ र कप्तान रोहित पौडेलले ३९ रन बनाए। अर्जुन कुमाल र आरिफ शेखले समान ११–११ रन जोडे।युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २–२ विकेट लिए।यस जितसँगै नेपालले लिग–२ मा २३ खेलबाट १६ अंक जोडेको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ। सिरिजअन्तर्गत अबको खेल आइतबार ओमान र युएईबीच हुनेछ।


























