
काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। आजको खेलमा पनि सोही लय कायम राख्ने लक्ष्य नेपाली टोलीको रहनेछ।नेपाल क्रिकेट संघ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टोली मलेसिया पठाएको छ। टोलीमा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन्।नेपालले समूह चरणअन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ।



























